काठमाडौं । नेपाली बजारमा महिन्द्रा, हुन्डाई, विवाइडी, किया, दिगो, डेरी र एमजी मोटर्सका उत्पादन उपलब्ध रहेका छन् । यी मध्ये सबैभन्दा कम मूल्यमा गाडी विक्री गर्ने कम्पनी डेरी हो ।
डेरी कम्पनीले दुई मोडल विक्री गदै आएको छ । उसको EV7 विद्युतीय चार्जबाट चल्ने कार हो भने EM7 विद्युतीय चार्जसहित छतमा सोलार प्यानल जडान भएको कार हो । १७ किलोवाट आवरको व्याट्री यी दुबै कारमा पाउन सकिन्छ । तर, रेञ्जमा सोलार सहितको EM7 को धेरै रहेको छ ।
आधिकारीक वितरकको दावी अनुसार EV7 ले २३० र EM7 ले २५० किलोमिटर रेञ्ज प्रदान गर्छ । मूल्यमा पनि इभी७ केही सस्तो रहेको छ । यसको मूल्य १९ लाख ५० हजार रुपैयाँ रहेको छ । त्यस्तै इएम७ को मूल्य १९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
बजारमा उपलब्ध दिगो E8 अर्को कम मूल्यको कार हो । दिगो ग्रुपले विक्री गर्दै आएको E8 को मूल्य २१ लाख ४९ हजार ५०० रुपैयाँ तोकिएको छ । यसमा १५ किलोवाट आवरको व्याट्री रहेको छ । यसलाई एक पटकको फुल चार्जमा १५० किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ ।
महिन्द्राले विक्री गर्दै आएको e-verito सेडान कार हो । नेपालमा उपलब्ध सबैभन्दा कम मूल्यको इलेक्ट्रीक सेडानको मूल्य ३९ लाख ८० हजार रुपैयाँ रहेको छ । २१.२ किलोवाट आवरको व्याट्री उपलब्ध e-veritoले एक पटकको फुल चार्जमा १४० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दावी छ ।
विवाइडी नेपालमा सबैभन्दा धेरै मोडलका इलेक्ट्रीक कार विक्री गर्ने कम्पनी हो । कम्पनीले e6 क्रसओभर, M3 एमपीभी र T3इलेक्ट्रीक भ्यानको विक्री गर्दै आएको छ । विवाइडी e6 मा ९० किलोवाटको मोटर उपलब्ध रहेको छ । कम्पनीले यसको मूल्य ५० लाख रुपैयाँ तोकेर विक्री गर्दै आएको छ । यसलाई एक पटकको फुलचार्जमा ४०० किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ ।
विवाइडीको M3को ७ सिटर अप्सनको मूल्य ४६ लाख रुपैयाँ तोकेको छ भने, ५ सिट क्षमताको M3को मूल्य ४३ लाख रुपैयाँ राखेको छ । यसमा १०० किलोवाट क्षमताको मोटर रहेको छ । यसलाई फुल चार्जमा ३१० किलोमिटर गुडाउन सकिने कम्पनीले जनाएको छ ।
विवाइडीले इलेक्ट्रीक भ्यान पनि विक्री गर्दै आएको छ कम्पनीले विक्री गर्ने T3 भ्यानको मूल्य ३८ लाख रुपैयाँ रहेको छ । यसलाई पनि फुल चार्जमा ३१० किलोमिटर गुडाउन सकिने जनाइएको छ ।
अर्को धेरै मोडल विक्री गर्ने कम्पनी हुन्डाई हो । हुन्डाईले कोनाको दुई भेरियन्ट र आयोनिक मोडल विक्री गर्दै आएको छ । हुन्डाई आयोनिक सेडान कार हो भने कोना एसयूभी हो ।
कम्पनीले कम रेञ्जको कोना ५६ लाख ९६ हजार मूल्य तोकेर विक्री गर्दै आएको छ । यसमा १०० किलोवाट क्षमताको मोटर र ३९.२ किलोवाट आवरको व्याट्री उपलब्ध रहेको छ । यसलाई फुल चार्जमा ३१० किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ ।
कोना लङ रेञ्ज मोडलमा ६४ किलोवाट आवरको व्याट्री र १५० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको छ । यसको मूल्य ७१ लाख ९६ हजार रुपैयाँ रहेको छ । यसलाई एक पटकको फुल चार्जमा ४८० किलोमिटरसम्म चलाउन सकिने छ ।
हुन्डाईको सेडान कार आयोनिक निकै आकर्षक कार रहेको छ । यसको मूल्य ५७ लाख ९६ हजार निर्धारण गरेर कम्पनीले विक्री गर्दै आएको छ । यसमा ३८ किलोवाट आवरको व्याट्री र १०० किलोवाट क्षमताको मोटर दिइएको छ । यसलाई एक पटकको फुल चार्जमा २७० किलोमिटर गुडाउन सकिन्छ ।
कियाले नेपालमा विक्री गर्दै आएको निरोको मूल्य ६९ लाख ९० हजार रुपैयाँ रहेको छ । यसमा पनि हुन्डाई कोनाको लङ रेञ्जमा जस्तै ६४ किलोवाट आवरको व्याट्री र १५० किलोवाटको मोटर उपलब्ध रहेको छ । यसलाई एक पटकको फुल चार्जमा ४८० किलोमिटर गुडाउन सकिने कम्पनीको दाबी छ ।
नेपालमा सर्वाधिक सफल मध्येको एक विद्युतीय कार एमजीको इजेडएस हो । नेपाल आएको छोटो समयमा नै आफुलाई सफल स्थानमा उभ्यान सफल इजेडएसको मूल्य ५० लाख ९९ हजार रुपैयाँ रहेको छ । यसमा ४४ किलोवाट आवरको व्याट्री र ११२ किलोवाटको इलेक्ट्रीक मोटर दिइएको छ । यसलाई एक पटकको फुल चार्जमा ३३७ किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ ।
प्यूजोले पनि पाट्नर इभी नेपाल ल्याएको थियो । तर, कम्पनीले यसको विस्तृत विवरण अहिले आफ्नो आधिकारीक पेजमा उल्लेख गरेको पाइदैन । साथै, अउडी, टेस्ला र ज्यागुअरले नेपाल ल्याएका इलेक्ट्रीक कारले निरन्तरता पाउने देखिएको छैन ।